मुगु । हुम्ला र बाजुराबीच देखिएको सीमा विवादको प्रभाव अब छिमेकी जिल्ला मुगुसम्म पुगेको छ। विवादका कारण कर्णाली कोरिडोर अवरुद्ध भएपछि मुगुका विभिन्न क्षेत्रको जनजीवन, पर्यटन गतिविधि तथा विकास निर्माणका काम प्रभावित भएका छन्।
बाजुरास्थित हिमाली युवा क्लबले आफ्ना माग पूरा नभएको भन्दै कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकाका बासिन्दाले दैनिक आवतजावतमा कठिनाइ भोग्न थालेका छन्। साथै खाद्यान्न, तरकारी, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
सडक अवरुद्ध हुँदा रारा क्षेत्र तथा हुम्ला–मुगु भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रभावित भएका छन्। पर्यटन व्यवसायीहरूका अनुसार यात्रुहरूको आवागमन घट्दा पर्यटन क्षेत्रले प्रत्यक्ष असर खेपिरहेको छ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि आन्दोलन चर्किएको हो। यसअघि स्थानीय सरोकारवाला, सुरक्षा निकाय र प्रशासनबीच आन्दोलन स्थगित गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै आन्दोलनरत पक्ष पुनः सडकमा उत्रिएको बताइएको छ।
आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका छन्।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार असार मसान्त नजिकिँदै गर्दा विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा समस्या भएको छ। निर्माणाधीन आयोजनाहरू प्रभावित हुनुका साथै स्थानीय तहका नियमित कामकाजमा समेत असर परेको उनले बताए।
यता बाजुरा प्रशासनले विवाद समाधान तथा सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढिरहेको र सर्वसाधारणलाई परेको असुविधा अन्त्य गर्न सडक खुलाउने प्रयास जारी रहेको छ।
कर्णाली कोरिडोर लामो समय बन्द रहँदा बाजुरा र हुम्ला मात्र नभई मुगुका नागरिक, व्यवसायी तथा पर्यटन क्षेत्रले समेत ठूलो मार खेप्नुपर्ने अवस्था देखिएको छ।