काठमाडौँ । कैलालीको गोदावरी क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्यका रूपमा रहेका छन्।
सरकारले समितिलाई घटनाको वस्तुगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।
गत जेठ २९ गते कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीहरूले अतिक्रमण हटाउने क्रममा एक महिलाले प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। भिडियो सार्वजनिक भएसँगै स्थानीयवासी तथा विभिन्न पक्षबाट घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग उठेको थियो।
उक्त घटनापछि प्रदेश सरकारले औपचारिक रूपमा छानबिन समिति गठन गर्दै वास्तविक अवस्था सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।