काठमाडौं । बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै दिएको सार्वजनिक अभिव्यक्ति विवादको विषय बनेको छ।
आइतबार नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा अवरोध बनेका बिजुलीका पोल तत्काल हटाउन सम्बन्धित ठेकेदारलाई कडा निर्देशन दिएका थिए। सोही क्रममा उनले काममा लापरवाही गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै कठोर शब्द प्रयोग गरेका थिए।
मन्त्रीको उक्त भनाइ मन्त्रालयका उच्च अधिकारी, स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमै आएको थियो। कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिव्यक्तिको शैलीलाई लिएर व्यापक चर्चा र आलोचना सुरु भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ले भने मन्त्रीको आशय निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गरी कामलाई तीव्रता दिनुपर्ने सन्देश रहेको बताएकी छन्। उनका अनुसार मन्त्रीले जनताले लामो समयदेखि भोग्दै आएको सास्तीप्रति चिन्ता व्यक्त गर्दै छिटो काम सम्पन्न गर्न जोड दिएका हुन्।
नागढुंगा–मुग्लिङ सडक आयोजनाअन्तर्गत अझै ठूलो संख्यामा विद्युत्का पोल स्थानान्तरण हुन बाँकी रहेको जनाइएको छ। आयोजनाको तथ्यांकअनुसार पश्चिम खण्डमा १०७ र पूर्वी खण्डमा ८० भन्दा बढी पोल नसारिँदा सडक विस्तारको काम प्रभावित भइरहेको छ।
यसअघि पनि मन्त्री लम्साल निर्माण व्यवसायीमाथि कडा कदम चाल्न निर्देशन दिएको विषयमा सार्वजनिक बहसमा आएका थिए। पछिल्लो अभिव्यक्तिपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको भाषाशैली र जिम्मेवारीबारे पुनः चर्चा सुरु भएको छ।