काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग क्रमशः फिर्ता हुने क्रममा रहेको छ। पछिल्लो पटक रुपन्देही जिल्ला अदालतले पनि उक्त अभियोग फिर्ता लिन अनुमति दिएको छ।
सोमबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दालाई भने यथावत् राख्दै संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन आदेश दिएको हो। अदालतको यस निर्णयसँगै लामिछानेसहित जीबी राई, कुमार रम्तेल लगायत अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराधको आरोप रुपन्देहीमा अन्त्य भएको छ।
यसअघि पर्सा र कास्की जिल्ला अदालतले पनि यस्तै प्रकृतिका अभियोग फिर्ता लिन अनुमति दिएका थिए। कास्कीमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत फिर्ता भइसकेको छ।
हालसम्मका अदालतका निर्णयअनुसार रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग काठमाडौंबाहेक अन्य जिल्लामा कायम नरहेको देखिएको छ। यद्यपि सहकारी ठगीसँग सम्बन्धित मुद्दाहरू भने सम्बन्धित अदालतहरूमा विचाराधीन अवस्थामै रहेका छन्।
अदालतहरूको पछिल्लो निर्णयले लामिछानेसँग जोडिएका कानुनी प्रक्रियामा नयाँ मोड आएको विश्लेषण गरिएको छ भने अब काठमाडौंमा विचाराधीन मुद्दाको नतिजातर्फ चासो केन्द्रित भएको छ।