काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। निगमले जारी गरेको पछिल्लो सूचनाअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य साविककै दरमा कायम रहनेछ।
निगमका अनुसार देशभर लागू हुने वर्गीकरणअनुसार पहिलो श्रेणीका डिपो क्षेत्रहरूमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसामै बिक्री हुनेछन्। यो दर चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा लागू हुनेछ।
त्यसैगरी, सुर्खेत र दाङ समेटिएका दोस्रो श्रेणीका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २२४ रुपैयाँ कायम रहने निगमले जनाएको छ।
काठमाडौं, पोखरा र दिपायल समावेश रहेको तेस्रो श्रेणीका क्षेत्रमा भने पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर २२५ रुपैयाँमै उपलब्ध हुनेछन्।
अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्थाको समीक्षा गर्दै निगमले हालका लागि इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको जनाएको छ। यससँगै उपभोक्ताले हाललाई इन्धन खरिदमा थप मूल्यवृद्धिको भार व्यहोर्नु नपर्ने भएको छ।