बेइजिङ/ सोमबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ।भेटमा चिनियाँ विदेशमन्त्री वाङले चीन र आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले सम्पूर्ण नेपाली जनताप्रति चीनले मैत्रीपूर्ण नीति अख्तियार गरेको प्रस्ट पारेका हुन् । वाङले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न तथा नेपालको आफ्नै राष्ट्रिय परिस्थितिअनुरूपको विकासको बाटो तय गर्न चीनले सधैँ सहयोग गर्ने उनले बताए।
नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड बीआरआई सहकार्यलाई अगाडि बढाउन चीन इच्छुक जनक रहेको समेत वाङले बताए। विशेषगरी विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्यमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
यसका लागि दुवै पक्षले विभिन्न सहयोग संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउनुपर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्नेमा वाङले जोड दिएका छन्।
चीनले आफ्ना उद्यम र कम्पनीहरूलाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताउँदै वाङले नेपालले पनि त्यसका लागि थप समतामूलक र पारदर्शी व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।
चिनियाँ विदेशमन्त्री वाङ यीको भनाईमा जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन चीनले गर्दै आएको लामो समयदेखिको सहयोगप्रति आभार व्यक्त गरे। चीनले नेपाललाई सधैं समान व्यवहार गरेको र सार्वभौमसत्ता तथा स्वतन्त्रताको सम्मान गरेको उनले उल्लेख गरेका हुन्।
खनालले भने, नेपाल एक चीन नीतिप्रति दृढ छ, चीनको पूर्ण एकीकरण हासिल गर्ने प्रयासलाई समर्थन गर्छ र चीनको हितविपरीत नेपाली भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न दिने छैन।
चीनको विकास नेपालका लागि पनि अवसर भएको भन्दै खनालले चिनियाँ लगानीलाई स्वागत गरे। उनले चिनियाँ लगानीकर्तालाई निष्पक्ष, कानुनमा आधारित र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन नेपाल तयार रहेको बताए।
साथै, नेपालले मानवताका लागि साझा भविष्य निर्माण गर्ने दृष्टिकोणलाई पूर्ण रूपमा समर्थन गर्ने र चीनले प्रस्ताव गरेका विश्वव्यापी पहलहरूलाई साथ दिने उनले स्पष्ट पारे।
भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री खनालले चिनियाँ विदेशमन्त्रीसँगको भेट फलदायी भएको बताएका छन्। उनले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयाममा विस्तृत छलफल भएको जानकारी दिएका छन् ।
जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको र दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनले उल्लेख गरेका छन्।