काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी संगठन सुदृढीकरण अभियानअन्तर्गत अधिकांश स्थानीय तह र जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ।
त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा कार्यक्रम स्थगित भएको जनाइएको छ।
रास्वपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय अधिवेशन सम्पन्न गरिसकेको छ। मधेस प्रदेशको अधिवेशन हाल स्थगित अवस्थामा रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।
पार्टी नेतृत्वका अनुसार संगठनात्मक संरचना निर्माणसँगै पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पनि तीव्र पारिएको छ। रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारी भइरहेको बताइएको छ।
महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयनसँगै आगामी राजनीतिक रणनीति तय गरिने अपेक्षा गरिएको छ।