काठमाडौँ । देशकै बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सुरुङमार्गभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम सम्पन्न भइसकेकाले अन्तिम परीक्षण र व्यवस्थापकीय तयारीलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्र हुने सम्भावित आकस्मिक घटनाको उद्धार, सुरक्षा व्यवस्थापन तथा सवारी सञ्चालनसम्बन्धी अभ्यास जारी छ। सुरुङ बाहिरको पहिरो नियन्त्रणसम्बन्धी केही काम मात्रै बाँकी रहेको उनले बताए।
कुल दुई हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनका लागि यात्रा थप सहज र छिटो हुने अपेक्षा गरिएको छ। निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन नसक्नुमा ठेकेदार पक्षको ढिलाइ तथा स्थानीय अवरोध प्रमुख कारण बनेका थिए।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल दस्तुर उठाउने व्यवस्थासमेत अन्तिम चरणमा पुगेको छ। चालकले नगद, क्यूआर कोड स्क्यान तथा सवारीमा जडान गरिने विद्युतीय स्टिकरमार्फत शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ।
बोलपत्र प्रक्रियामार्फत युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी प्राप्त गरेको छ। कम्पनीले चौबिसै घण्टा सेवा सञ्चालन गर्नेछ भने व्यवस्थापनका लागि करिब १५० जनशक्ति परिचालन गरिनेछ।
हाल नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। यद्यपि मोटरसाइकललगायत दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्गमा प्रवेश अनुमति दिइने छैन।
सरकारले यसअघि नै राजपत्रमार्फत सुरुङमार्ग प्रयोग शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबस वर्गका सवारीका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै मिनीबस, मिनी ट्रक तथा ट्रकका लागि ८० देखि १२५ रुपैयाँसम्म शुल्क तोकिएको छ।
बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ। भारी उपकरण तथा मल्टिएक्सल ट्रकका लागि भने प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरिएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने ट्राफिक जाम, यात्रा समय तथा इन्धन खर्चमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।