काठमाडौं । देशभरको मौसममा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको अवस्था छ। केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
मौसम पूर्वानुमानअनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा छिटफुटदेखि मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी र मधेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकीका तराई भू–भागका थोरै क्षेत्रमा दिनभर गर्मीको प्रभाव महसुस हुन सक्नेछ।
रातिको समयमा कोशी प्रदेशमा बदलीको अवस्था कायम रहने सम्भावना छ भने अन्य अधिकांश क्षेत्रमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशीका पहाडी तथा हिमाली क्षेत्रमा र बागमती–गण्डकीका उच्च भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहने मौसमविद्ले बताएका छन्।
मौसममा हुने सम्भावित परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र चट्याङ प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।