२०८३, आश्विन १ गते

Sep 17 2026

आज भोटो जात्रा मनाइँदै,के हो जात्राको पौराणिक पृष्ठभूमि ?

आज भोटो जात्रा मनाइँदै,के हो जात्राको पौराणिक पृष्ठभूमि ?

रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज शनिवार भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

    परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६ महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।

    राष्ट्रपतिको समुपस्थिति
    परम्पराअनुसार, आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल पुगेर मच्छिन्द्रनाथको दर्शन गर्नुहुने र उहाँकै उपस्थितिमा गुठी संस्थानका अधिकारीले रथको चारै कुनाबाट भोटो देखाउने कार्यक्रम रहेको छ । उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तित्वहरूको पनि सहभागिता रहने गर्दछ ।

    के हो भोटो जात्राको पौराणिक पृष्ठभूमि ?
    भोटो जात्राको इतिहास एउटा रोचक लोककथासँग जोडिएको छ । किंवदन्ती अनुसार, टौदहका नागराज ‘कर्कोटक’ की पत्नीको आँखाको रोग निको पारिदिएबापत एक किसान (ज्यापु) लाई नागराजले उपहारस्वरूप हीराजडित बहुमूल्य भोटो दिएका थिए ।

    एकदिन ती किसानले खेतमा काम गर्दा भोटो फुकालेर राखेका थिए, जहाँबाट एउटा ‘लखें’ ले उक्त भोटो चोरेर भाग्यो । पछि रातो मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा किसानले आफ्नो भोटो लगाएको लखेंलाई भेटे । दुवैबीच भोटोको स्वामित्वलाई लिएर ठूलो विवाद भयो । उक्त विवाद समाधान गर्न नसकिएपछि भोटोलाई सुरक्षित रूपमा मच्छिन्द्रनाथको जिम्मा लगाइयो र घोषणा गरियो– “जसले सप्रमाण आफ्नो भोटो दाबी गर्छ, उसैलाई यो दिइनेछ ।” सोही दिनदेखि हरेक वर्ष “यो भोटो कसको हो?” भनेर सार्वजनिक रूपमा तीन पटकसम्म देखाउने परम्परा रहिआएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij