काठमाडौं । नेपाली हास्य अभिनय क्षेत्रका परिचित कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका शर्माको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान निधन भएको जानकारी प्राप्त भएको छ।
हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जालमार्फत शर्माको निधनको खबर सार्वजनिक गरेका हुन्। विगत केही वर्षदेखि अमेरिका बस्दै आएका शर्मा करिब सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए।
टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका शर्मा आफ्नो विशिष्ट अभिनय शैलीका कारण नेपाली हास्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका थिए। सो टेलिफिल्मबाट प्राप्त सफलतापछि उनी ‘चतुरे’ नामले नै चिनिन थालेका थिए।
शर्माले विभिन्न टेलिफिल्म, चलचित्र तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा अभिनय गरेका थिए। अभिनयसँगै उनले ‘चतुरेको दाउपेच’ नामक चलचित्र निर्माणसमेत गरेका थिए।
उनको निधनसँगै नेपाली हास्य अभिनय क्षेत्रले एक अनुभवी र लोकप्रिय कलाकार गुमाएको छ। कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्।