धनगढी । कैलालीमा नेपाली सेनाको नियमित सैन्य अभ्यासका क्रममा भएको ग्रिनेड विस्फोटमा एक सैनिकको मृत्यु भएको छ भने एक अधिकारी घाइते भएका छन्।
लम्कीचुहा नगरपालिका–३ मा रहेको नेपाली सेनाको गोराङ्गे ब्यारेक क्षेत्रमा फायरिङ तथा विस्फोटक सम्बन्धी अभ्यास चलिरहेका बेला ग्रिनेड विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा सेनाका हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। प्राप्त जानकारीअनुसार उनको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको बताइएको छ।
घटनापछि नेपाली सेनाले विस्फोटको कारणबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। सैन्य अभ्यासका क्रममा भएको उक्त दुर्घटनाले ब्यारेक क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।