काठमाडौं । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले आफ्ना अधिकार र जीविकोपार्जनको सुनिश्चितताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
सडक पेटीमा विभिन्न सामग्री बिक्री गरेर जीवन निर्वाह गर्दै आएका उनीहरूले सरकारी निकायबाट बारम्बार हटाउने र धरपकड गर्ने प्रयास भएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले आफूहरूलाई रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको अवसर उपलब्ध गराउन सरकारसमक्ष माग राखेका छन्।
प्रदर्शनमा सहभागीहरूले सीप र क्षमता हुँदाहुँदै पनि पर्याप्त अवसर नपाउँदा सडकमा श्रम गरेर गुजारा चलाउन बाध्य भएको बताएका छन्। उनीहरूका अनुसार राज्यले अपाङ्गता भएका नागरिकको जीवनस्तर सुधार गर्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ।
आन्दोलनकारीहरूले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि विभेदपूर्ण व्यवहार, दुर्व्यवहार र अपमानजनक शब्द प्रयोग हुने गरेको गुनासो पनि गरेका छन्। उनीहरूले मानवअधिकारको सम्मान, सम्मानजनक रोजगारीको व्यवस्था र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
साथै, सडक पेटीमा जीविकोपार्जन गरिरहेका दृष्टिविहीन व्यक्तिमाथि हुने धरपकड तथा हटाउने कार्य तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले आफ्ना समस्या समाधानका लागि राज्यले संवेदनशील भएर ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्।