काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय बन्दै जाँदा आज विभिन्न प्रदेशमा वर्षा, मेघगर्जन, चट्याङ र केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशभर मनसुनी वायुको प्रभाव कायम छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा पनि मनसुन सक्रिय रहेको छ। बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। आगामी २–३ दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा समेत मनसुन फैलिने अनुमान गरिएको छ।
हाल देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका धेरै स्थानमा आंशिक बदली छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। तराईका विभिन्न क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै, कोशीको तराई र मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ भने मधेश तथा कोशी, बागमती र गण्डकीका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको छ। साथै मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुलाई विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।