भैरहवा । बुटवलस्थित तिनाउ नदीमा आएको आकस्मिक बाढीका कारण बीच धारमा फसेका एक युवकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरक्षित रूपमा उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्कका स्थायी बासिन्दा तथा हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्जमा बसोबास गर्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार दाउरा संकलन गर्ने क्रममा तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीमा फसेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बलको सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले जोखिमपूर्ण अवस्थाबीच विकको सफल उद्धार गरेको प्रहरीले जनाएको छ।
पाल्पा र बुटवल क्षेत्रमा लगातार वर्षा भएपछि तिनाउ नदीको जलसतह अचानक बढ्दा नदीमा रहेका विक बीच धारमै अलपत्र परेका थिए।
यसैबीच, प्रहरीले वर्षायाममा नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले दाउरा संकलन, पौडी खेल्ने वा अन्य प्रयोजनका लागि नदीमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा पनि उच्च सतर्कता अपनाउन प्रहरीको अनुरोध छ।