काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले सांसदहरूलाई जनताको विश्वास र मूल्यांकनमा उत्कृष्ट देखिने गरी आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
संघीय संसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि सञ्चालन गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौँ मतदाताको विश्वास बोकेर संसदमा पुगेका जनप्रतिनिधिले जिम्मेवारी, अनुशासन र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
उनले सांसदहरूबीच राम्रो कानुन निर्माण, प्रभावकारी संसदीय भूमिका र मर्यादित व्यवहारमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे। जनताले सांसदका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले नागरिकको भरोसा कायम राख्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै सांसदहरूले आगामी दिनमा आफ्नो संसदीय भूमिका अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास पनि व्यक्त गरे।