२०८३, आश्विन १ गते

Sep 17 2026

धानखेत जोगाउन सकेनौँ भने खाद्य सुरक्षामै संकट आउन सक्छ’

धानखेत जोगाउन सकेनौँ भने खाद्य सुरक्षामै संकट आउन सक्छ’

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले धान खेतीयोग्य जमिन निरन्तर घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै समयमै संरक्षण गर्न नसके भविष्यमा देशको खाद्य सुरक्षामै गम्भीर असर पर्न सक्ने बताएका छन्।

    ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै उनले धान उत्पादनका लागि प्रविधिको विकास महत्त्वपूर्ण भए पनि खेतीयोग्य धानखेतको विकल्प कहिल्यै हुन नसक्ने स्पष्ट पारे।

    उनका अनुसार अनियन्त्रित प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ र कृषियोग्य जमिनको अन्य प्रयोजनमा प्रयोग बढ्दै जाँदा धान खेती हुने क्षेत्र घटिरहेको छ। साथै, किसानहरू बढी आम्दानी हुने अन्य बालीतर्फ आकर्षित हुँदा धान खेतीको विस्तार झन् सीमित बन्दै गएको उनले बताए।

    सचिव मिश्रले धान खेतीको क्षेत्रफल निरन्तर खुम्चिँदै गए भविष्यमा देशको खाद्य आत्मनिर्भरता कमजोर बन्न सक्ने चेतावनी दिँदै धानखेत संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

    उनले नेपालका स्थानीय धानका जातहरू देशको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती जातहरूको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे। स्थानीय जात एकपटक हराएपछि पुनः प्राप्त गर्न कठिन हुने भएकाले अहिले नै संरक्षणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

    उत्पादन वृद्धि गर्ने पर्याप्त सम्भावना नेपालसँग रहेको उल्लेख गर्दै उनले हाल प्रतिहेक्टर करिब चार टन उत्पादन भइरहे पनि आधुनिक प्रविधि, उन्नत बीउ र प्रभावकारी व्यवस्थापनमार्फत त्यसलाई दोब्बर नजिक पुर्‍याउन सकिने धारणा राखे। साथै, चैते धान खेती विस्तार गरी वर्षमा दुई पटक धान उत्पादन गर्ने प्रणाली विकास गर्न सके मुलुकमा चामलको अभाव नहुने विश्वास उनले व्यक्त गरे।

    कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले धान अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले हाइब्रिड धानलगायत नयाँ प्रविधिमा आधारित अनुसन्धानका लागि थप पूर्वाधार र सरकारी लगानी आवश्यक रहेको बताए।

    राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित कार्यक्रममा कृषि वैज्ञानिक, विज्ञ, किसान तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij