काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको सुदृढ विकासका लागि किसानमैत्री नीति प्रभावकारी रूपमा लागू गर्न सरकारलाई आग्रह गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले नेपाली अर्थतन्त्रको आधार कृषि नै भएको उल्लेख गर्दै देशको खाद्य सुरक्षा र समृद्धि किसानहरूको निरन्तर मेहनत र समर्पणमा निर्भर रहेको बताएका छन्। खेतबारीमा पसिना बगाउने किसानको योगदानको सम्मान गर्दै उनले कृषि उत्पादन बढाउन राज्यले आवश्यक सहयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रचण्डले रोपाइँको व्यस्त समयमा पनि किसानले रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। यी आधारभूत समस्याको समयमै समाधान नगरे कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
उनले सरकारलाई किसानमुखी योजना र कार्यक्रमलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।
सन्देशको अन्त्यमा उनले राष्ट्रिय धान दिवसले किसानप्रतिको सम्मान अझ बढाउँदै कृषि उत्पादन, खाद्य सुरक्षा र देशको समृद्धितर्फ सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।