काठमाडौं । राहदानी विभागले राहदानी वितरण तथा व्यवस्थापन प्रणालीलाई थप आधुनिक र सुरक्षित बनाउन नयाँ प्रविधिमा आधारित प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली स्तरोन्नतिका कारण केही दिनका लागि देशभरबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणाली आगामी असार २९ गतेदेखि सञ्चालनमा आउनेछ। यसका लागि आवश्यक प्राविधिक कार्य भइरहेकाले निश्चित अवधिसम्म सेवा स्थगित गर्नुपर्ने अवस्था आएको बताइएको छ।
जारी सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गतेसम्म बन्द रहनेछ।
त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष रूपमा उपलब्ध गराइने सेवा असार २५ र २६ गते सञ्चालन नहुने जानकारी दिइएको छ।
विभागले नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा अझ व्यवस्थित, प्रभावकारी तथा सुरक्षित हुने अपेक्षा गरेको छ। साथै, स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई हुन सक्ने असुविधाप्रति क्षमा माग्दै आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।