२०८३, आश्विन १ गते

Sep 17 2026

विश्व बजारको प्रभाव: नेपालमा सुनको मूल्य किन लगातार बढिरहेको छ?

विश्व बजारको प्रभाव: नेपालमा सुनको मूल्य किन लगातार बढिरहेको छ?

रोज नेपाल
शनिवार, आषाढ २० २०८३
रोज नेपाल
शनिवार, आषाढ २० २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक तथा भूराजनीतिक अनिश्चितताले सुनको मूल्यमा निरन्तर दबाब सिर्जना गरेको छ। सुरक्षित लगानीका रूपमा सुनप्रति लगानीकर्ताको आकर्षण बढेसँगै नेपाली बजारमा पनि यसको मूल्य उच्च विन्दुतर्फ उक्लिएको देखिएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य असार १९ गतेसम्म आइपुग्दा २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। यसबीच एक सातामै प्रतितोला ११ हजार ६०० रुपैयाँले मूल्य वृद्धि भएको हो।

    साताको सुरुवातमा मूल्य बढेपछि बीचका तीन दिन केही घटेको थियो। असार १४ गते प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेको सुन त्यसपछिका तीन दिन क्रमिक रूपमा घटेको देखिए पनि असार १८ र १९ गते लगातार ठूलो दरले मूल्य बढेपछि सुन फेरि उच्च मूल्य नजिक पुगेको हो।

    सुन व्यवसायीहरूका अनुसार विश्वका विभिन्न क्षेत्रमा बढ्दो तनाव, आर्थिक अनिश्चितता, सम्भावित द्वन्द्वको जोखिम तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन सञ्चिति बढाइरहेको अवस्थाले अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढाएको छ। यही कारण यसको मूल्यमा उकालो लागेको उनीहरूको भनाइ छ।

    यसबाहेक अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढाव र ब्याजदरसम्बन्धी विश्वव्यापी अपेक्षाले पनि सुनको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार, डलरको विनिमय दर र आयात लागतका आधारमा तय हुने भएकाले विश्व बजारको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा देखिने गरेको छ।

    मूल्य बढेसँगै गहना खरिद गर्ने उपभोक्ताले केही समय पर्खने रणनीति अपनाउन थालेका छन्। तर दीर्घकालीन लगानीका रूपमा सुन खरिद गर्नेहरूको चासो भने अझै कायम रहेको व्यवसायीहरूको भनाइ छ।

    व्यवसायीहरूले अन्तर्राष्ट्रिय परिस्थिति यथावत् रहेमा आगामी दिनमा पनि सुनको मूल्य उच्च स्तरमै रहन सक्ने आकलन गरेका छन्। यद्यपि विश्व राजनीतिक अवस्था, अमेरिकी मौद्रिक नीति तथा अन्तर्राष्ट्रिय वित्तीय बजारमा आउने परिवर्तनले मूल्यमा फेरि उतारचढाव ल्याउन सक्ने उनीहरूको अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij