२०८३, आश्विन १ गते

Sep 17 2026

आज पनि मनसुनी प्रभाव कायम, केही क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज पनि मनसुनी प्रभाव कायम, केही क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसतभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा सामान्य अवस्थामै रहेको जनाएको छ।

    हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ। बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

    महाशाखाका अनुसार दिउँसो विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ भने कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

    देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र मधेसका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेसका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा, बागमतीका केही भाग तथा कर्णालीका पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

    महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित वर्षाका कारण नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij