काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यका साथ मन्त्रालय परिसरमा ह्विलचेयर सेवा सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले सोमबारदेखि लागू गरेको यो व्यवस्थामार्फत शारीरिक रूपमा हिँडडुल गर्न असहज हुने व्यक्ति, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक तथा आवश्यकता अनुसार अन्य सेवाग्राहीले पनि ह्विलचेयर प्रयोग गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार सार्वजनिक सेवा लिन आउने सबै नागरिकले सम्मानजनक, सुरक्षित र सहज वातावरणमा सेवा प्राप्त गरून् भन्ने उद्देश्यले यो सुविधा सुरु गरिएको हो। यसबाट मन्त्रालयभित्र आवतजावत गर्न कठिनाइ हुने सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।
ह्विलचेयर सेवाको उपलब्धतासँगै सेवाग्राहीले मन्त्रालय परिसरभित्र विभिन्न शाखा तथा कार्यालयसम्म सहज रूपमा पुगेर आफ्नो काम सम्पन्न गर्न सक्नेछन्। यसले विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा शारीरिक रूपमा कमजोर नागरिकको सरकारी सेवामा पहुँच अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
समावेशी शासन, समान अवसर र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै मन्त्रालयले यो पहल अघि बढाएको जनाएको छ। साथै, आगामी दिनमा पनि सेवाको गुणस्तर सुधार गर्दै सेवाग्राहीको आवश्यकता केन्द्रित थप कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले उल्लेख गरेको छ।