काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क राईले कानुन कार्यान्वयनमा समानता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा कानुनी शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने भए पनि व्यवहारमा दोहोरो मापदण्ड देखिएको टिप्पणी गरे।
संसदमा बोल्दै राईले संविधान र संसदीय नियमावलीअनुसार सांसदहरूको नियमित उपस्थिति सुनिश्चित हुन नसकेको उल्लेख गर्दै यस विषयमा प्रभावकारी निगरानी र व्यवस्थापन गर्न सभामुखको ध्यानाकर्षण गराए।
उनले सामाजिक सञ्जालमा अभिव्यक्त विचारका आधारमा सर्वसाधारण नागरिकमाथि तत्काल कारबाही हुने तर जनप्रतिनिधिहरूले सार्वजनिक रूपमा अपमानजनक अभिव्यक्ति दिँदा पनि कुनै कदम नचालिने अवस्था न्यायको सिद्धान्तसँग मेल नखाने बताए।
राईका अनुसार आफूलाई केही सांसदहरूले ज्यानको धम्की तथा घरमा आगजनी गर्ने चेतावनी दिएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गरिए पनि हालसम्म कुनै कानुनी प्रक्रिया अघि नबढाइएको बताए। उनले जनप्रतिनिधि भएकै आधारमा कसैलाई कानुनभन्दा माथि राख्न नहुने धारणा व्यक्त गरे।
त्यसैगरी उनले माइतीघर मण्डलामा आफ्ना माग राख्दै आन्दोलन गरिरहेका दृष्टिबिहीन नागरिकहरूको विषय पनि संसदमा उठाए। उनीहरूको मागप्रति सरकारले अपेक्षित संवेदनशीलता नदेखाएको आरोप लगाउँदै समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्न सभामुखमार्फत सरकारसँग आग्रह गरे।
राईले लोकतान्त्रिक शासन प्रणालीको विश्वसनीयता कायम राख्न कानुनको समान कार्यान्वयन, जनप्रतिनिधिको जवाफदेहिता तथा नागरिकका अधिकारको सम्मान अपरिहार्य रहेको धारणा व्यक्त गरे।