काठमाडौं। नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ। पार्टीले यस विषयमा तयार पारेको दृष्टिकोण विशेष कार्यक्रममार्फत सार्वजनिक गर्न लागेको हो।
काँग्रेसका सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ शीर्षकको दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। यसका लागि आज दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
संविधान संशोधनका सम्भावित पक्षहरूको अध्ययन तथा सुझाव संकलन गर्न काँग्रेसले यसअघि विज्ञ समिति गठन गरेको थियो। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको उक्त समितिमा संविधान र कानुनका क्षेत्रमा अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरू सदस्यका रूपमा सहभागी छन्।
समितिले तयार पारेका सुझाव र अध्ययनका आधारमा पार्टीले संविधान संशोधनबारे आफ्नो स्पष्ट अवधारणा सार्वजनिक गर्न लागेको जनाएको छ। आगामी संवैधानिक बहसमा काँग्रेसको औपचारिक धारणा महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।