काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै संसदमै उपस्थित भएर स्पष्ट जवाफ दिन माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आफूहरू बोल्न बाध्य भएको बताइन्। संसद्को नियमित कामकाज अवरुद्ध नहोस् र जनसरोकारका विषय ओझेलमा नपरून् भन्ने सोचका साथ संयमता अपनाइएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनको भनाइ थियो।
ओलीले प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा व्यक्तिगत विचारमा मात्र सीमित नरहने, त्यसले राज्यको आधिकारिक दृष्टिकोणको प्रतिनिधित्व गर्ने भएकाले सीमा जस्तो संवेदनशील विषयमा प्रयोग हुने शब्दप्रति विशेष जिम्मेवारी आवश्यक पर्ने उल्लेख गरिन्।
उनका अनुसार नेपालको सीमा र भूभागसँग सम्बन्धित विषय केवल नक्साको रेखासम्म सीमित छैन। यो राष्ट्रिय इतिहास, सार्वभौमिकता, वीरहरूको बलिदान तथा भावी पुस्ताप्रतिको जिम्मेवारीसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताइन्।
राप्रपा सांसद ओलीले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मै आएर औपचारिक रूपमा स्पष्टीकरण दिनुपर्ने माग समेत गरिन्।