काठमाडौं। काठमाडौंस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्यमा तत्काल थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै उनलाई उपचारका लागि भारत लैजाने योजना तत्कालका लागि स्थगित गरिएको छ।
वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल पठाउने तयारी गरिएको थियो। तर, हालको अवस्थामा लामो दूरीको हवाई यात्रा गर्दा स्वास्थ्यमा थप जोखिम बढ्न सक्ने चिकित्सकहरूको सुझावपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एयर एम्बुलेन्ससहित आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको थियो। गृहमन्त्री सुधन गुरुङ स्वयं उनलाई विमानस्थलसम्म पुर्याउने व्यवस्थामा खटिएका थिए। तर चिकित्सकीय सिफारिसलाई प्राथमिकता दिँदै उनलाई तत्काल नेपालमै उपचार गराउने निर्णय गरिएको हो।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको माथिल्लो भाग गम्भीर रूपमा जलेको छ। हाल उनको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको टोलीले निरन्तर निगरानी राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।