चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरे क्षेत्रमा आइतबार बिहान दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
दुर्घटनापछि सडकको दुवै दिशामा लामो समयसम्म सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनास्थलबाट बस हटाएर यातायात सहज बनाउने काम तीव्र रूपमा भइरहेको छ।
घटनामा मानवीय क्षति भएको वा कोही घाइते भएको विषयमा आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायले दुर्घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।
यसअघि लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेपछि शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियो। आइतबार बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको केही समयमै जलविरेमा दुर्घटना भएपछि सडक फेरि अवरुद्ध हुन पुगेको हो।
सडक खुलाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ। यात्रुलाई यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।