काठमाडौं । देशभर मनसुन प्रणाली थप सक्रिय बनेसँगै आगामी केही घण्टा र आज रातिसम्म धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेषगरी पहाडी तथा तराईका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार अहिले मनसुनको प्रभाव देशभर कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सामान्य अवस्थाभन्दा केही उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले मौसम पूर्ण रूपमा बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थान तथा कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी र मधेस प्रदेशका केही क्षेत्रमा पनि उल्लेख्य वर्षा हुने सम्भावना रहेको छ। यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले रातिको समयमा पनि मौसममा खासै सुधार नआउने जनाएको छ। देशका अधिकांश स्थानमा बदली रहने र पहाडी तथा तराईका धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने केही स्थानमा हिमपातसमेत हुन सक्ने उल्लेख गरिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, नदी तथा खोलामा पानीको सतह बढ्ने, गेग्रान बहाव र कटानजस्ता जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा जोखिमयुक्त सडकमार्गमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।