काठमाडौँ । देशको निकासका लागि राष्ट्रिय सहमति, संवैधानिक राजसंस्था र राष्ट्रवादी आन्दोलन आवश्यक
काठमाडौं । नेपाल समाजवादी काग्रेसका सभापति गोविन्द निरौलाले मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट निकास निकाल्न राष्ट्रिय एकता, सहमति र राष्ट्रवादी अभियान अपरिहार्य भएको बताएका छन्।
डा. राजु चित्रकारको आयोजनामा आइतबार काठमाडौंको बानेश्वरस्थित नेपाल समाजवादी काग्रेसको सभाहलमा आयोजित ‘देशको वर्तमान अवस्था र त्यसको निकास’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति निरौलाले सहभागीहरूले राखेका धारणा र सुझावहरू सार्वजनिक गरेका हुन्।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले मुलुकको दीर्घकालीन स्थायित्वका लागि संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र तथा वैदिक सनातन धार्मिक राज्य सम्बन्धी विषयमा पुनः बहस आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

छलफलमा वर्तमान राष्ट्रिय अवस्थाबारे विभिन्न विषय उठान गर्दै सहभागीहरूले देशको निकासका लागि राष्ट्रिय स्वाधीनता र साझा संकल्पको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले राष्ट्रिय एकता, राजनीतिक सहमति र राष्ट्रिय सरकार निर्माण नभएसम्म मुलुक थप जटिल अवस्थामा पुग्ने चेतावनीसमेत दिएका थिए।
छलफलमा सहभागीहरूले सबै राजनीतिक दल, संवैधानिक राजसंस्था र नेपाली जनता साझा राष्ट्रिय उद्देश्यका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए। वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै केही वक्ताले यसको अन्त्य अपरिहार्य रहेको दाबी गरेका थिए।
कार्यक्रममा संघीयता र धर्मनिरपेक्षताले राष्ट्रिय हितमा अपेक्षित परिणाम दिन नसकेको निष्कर्ष पनि प्रस्तुत गरिएको थियो। साथै, राजनीतिक नेतृत्व, नीति र नेतृत्व शैलीमा समयानुकूल परिवर्तन नभए नेपाली जनता थप संकटमा पर्ने र वैदेशिक पलायन बढ्न सक्ने चिन्ता व्यक्त गरिएको थियो।
छलफलले मुलुकका विद्यमान समस्याको समाधानका लागि राष्ट्रवादी आन्दोलन आवश्यक रहेको तथा त्यसका लागि सबै राजनीतिक दलबीच संवाद, सहकार्य र सहमति अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
त्यसैगरी, २०६३ सालपछिका राजनीतिक परिवर्तन र त्यसक्रममा भएका संवैधानिक निर्णयहरूको समीक्षा गर्दै लोकतन्त्रप्रति प्रतिबद्धता र राजसंस्थाको भूमिकाबारे खुला बहस हुनुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।
कार्यक्रमको निष्कर्ष सार्वजनिक गर्दै सभापति निरौलाले वर्तमान अवस्थामा राजसंस्था र वैदिक सनातन धार्मिक राज्यको पक्षमा जनमत बढ्दै जानुको एउटा कारण सत्तारूढ दलहरूबाट भएको कुशासन, भ्रष्टाचार र जनअपेक्षाअनुसारको सुशासन दिन नसक्नु पनि रहेको धारणा सहभागीहरूले राखेको बताए। उनले यस्ता विषयमा आम समुदायमा सचेतना र जागरण अभियान सञ्चालन गर्ने निष्कर्षसमेत बैठकले गरेको जानकारी दिए।