बझाङ। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोट्देवल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का बझाङका विभिन्न स्थानसँगै छिमेकी जिल्ला बैतडीका केही क्षेत्रमा पनि महसुस भएको स्थानीयले बताएका छन्। धक्का महसुस भएपछि केहीबेर सर्वसाधारण घरबाहिर निस्किएका थिए।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ। यद्यपि स्थानीय प्रशासनले आवश्यक निगरानी जारी राखेको छ।