दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ।
मृतकहरू सल्यान माल्टा स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर बस्दै आएका कमल गिरी र घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कमल घर निर्माणसम्बन्धी काम गर्ने ठेकेदार तथा घनश्याम मिस्त्रीको रूपमा कार्यरत थिए।
प्रारम्भिक अनुसन्धानका आधारमा पानी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू ट्याङ्कीभित्र प्रवेश गरेको र अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। यद्यपि, घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने बताइएको छ।
बुधबार स्थानीयवासीले दुवै जनालाई ट्याङ्कीभित्र अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरूलाई मृत घोषणा गरेको थियो।
दुवै शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।