काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् गहिरिँदै गएको छ। अमेरिकी सेनाले लगातार १२औँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गर्दै हवाई र क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सञ्चालन गरिएको अभियानअन्तर्गत खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका विभिन्न सैन्य अड्डामा आक्रमण गरिएको हो।
इरानी पक्षले पनि आफ्ना केही सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि, क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि सुरु भएको द्वन्द्व पाँच महिनामा प्रवेश गरिसकेको छ। पछिल्लो घटनाले दुवै देशबीचको सैन्य टकराव थप तीव्र बन्दै गएको संकेत गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पछिल्लो सैन्य कारबाहीबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि रक्षा विश्लेषकहरूले निरन्तर हवाई आक्रमणका बाबजुद इरानले अझै पनि प्रभावकारी प्रतिकार गर्न सक्ने सैन्य क्षमता कायम राखेको टिप्पणी गरेका छन्।
मध्यपूर्वमा बढ्दो द्वन्द्वले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढ्दै गएको छ।