२०८३, आश्विन १ गते

Sep 17 2026

अनलाईन बेटिङविरुद्ध प्राधिकरणको कडाई, दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द

अनलाईन बेटिङविरुद्ध प्राधिकरणको कडाई, दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द

रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र मोबाइल एपमा पहुँच बन्द गरेको जनाएको छ। फिफा विश्वकपको अवधिमा यस्ता प्लेटफर्मको प्रयोग बढ्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले निगरानी र कारबाहीलाई तीव्र बनाएको हो।

    प्राधिकरणका अनुसार यस वर्षको विश्वकप सुरु भएयता २ लाख २३ हजार ५ सय ६८ वटा बेटिङ तथा गैरकानुनी वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट र एप ब्लक गरिएका छन्। सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्ता प्लेटफर्म तत्काल बन्द गराउने जिम्मेवारी दिइएको थियो।

    सोही निर्णयअनुसार पहिले सञ्चालनमा रहेका धेरै बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाम र डोमेन प्रयोग गर्दै पुनः सञ्चालनमा आउने क्रम रोकिएको छैन। यही कारण प्राधिकरणले निरन्तर निगरानी गर्दै नयाँ वेबसाइट पहिचान हुनेबित्तिकै बन्द गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

    प्राधिकरणले यस कार्यका लागि विशेष कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य तथा सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिसँग समन्वय गरेर शंकास्पद वेबसाइटका यूआरएल ब्लक गर्ने काम गरिएको हो।

    उनका अनुसार यस्ता वेबसाइटहरू एकपछि अर्को नयाँ नाममा सञ्चालनमा आउने भएकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ को प्रयोग गरी निरन्तर खोज, पहिचान र ब्लक गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि आवश्यक प्राविधिक जनशक्ति पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले सर्वसाधारणलाई अवैधानिक बेटिङ वा गैरकानुनी वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भए सम्बन्धित सूचना उपलब्ध गराएर नियन्त्रण अभियानमा सहयोग गर्न पनि आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij