२०८३, आश्विन १ गते

Sep 17 2026

कम्युनिस्टहरू राष्ट्रियताको पहरेदार र सच्चा देशभक्त हुन्- माधव नेपाल

कम्युनिस्टहरू राष्ट्रियताको पहरेदार र सच्चा देशभक्त हुन्- माधव नेपाल

रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दल मिलेर जानुपर्ने बताएका छन् ।

    ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने विषयमा एक भएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

    ‘गणतन्त्र, संघीयतालगायत थुप्रै विषयमा हामीले एकताबद्ध भएर जानैपर्छ । त्यति मात्रै हैन, जनताका हकअधिकारका कुराहरूमा, पीडा र वेदनाहरूमा अथवा गम्भीर समस्याहरूमा आवाज सशक्त रूपमा उठाउनका लागि पनि हातेमालो गरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

    राष्ट्रियताको पहरेदार कम्युनिस्ट नै रहेको उनको भनाइ छ । कम्युनिस्टहरू नै सच्चा देशभक्त रहेको उनले बताए ।

    उनले भने, ‘राजनीतिमा भएका विकृति-विसङ्गतिहरू त्यसलाई अन्त्य गर्नका लागि पनि हामीले गम्भीर हुनुपर्ने आवश्यकता छ। नेपालको राजनीतिमा रहेका विकृति-विसङ्गतिहरूबाट वामपन्थीहरू मुक्त छैनन्। त्यसो हुनाले वामपन्थीहरूले पनि आफ्नो भूमिका, विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ। कहाँ हामी चुकियौँ ? अरूलाई आरोप मात्र लगाएर पुग्दैन।’

    उनले वाम शक्तिहरूको विगतको गतिविधि, व्यवहार, जीवनशैलीहरूमा कहाँ त्रुटि रहेरु यी सबैको पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए।

    उनले थपे, ‘आउनुहोस्, हामी खुला मनले बसेर छलफल गरौँ। विभिन्न अवलम्बन गरिएका नीतिहरूको पनि समीक्षा गर्नु जरुरी छ। शासन सत्तामा जानेबित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन, आवश्यक छैन। दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन।’

    उनले विगतको कुरालाई स्वीकार गर्दै कमजोरीलाई कमजोरीको रूपमा पनि स्वीकार गर्नुपर्ने बताए। आफ्नो देशका जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सक्यौँ भने मात्रै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उनको भनाइ छ।

    उनले थपे, ‘एउटा नयाँ छलफल सुरु गरौँ। राष्ट्रियताको बारेमा, लोकतन्त्रको बारेमा, जनजीविकाको बारेमा विगतमा कम्युनिस्टहरूले, विगतमा नेपालका राजनीतिक पार्टीहरूले खेलेको भूमिकाको बारेमा पनि हामी समीक्षा गरौँ, मूल्याङ्कन गरौँ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij