२०८३, आश्विन १ गते

Sep 17 2026

तीन जिल्लामा लागुऔषधविरुद्ध प्रहरीको कारबाही, गाँजा र ब्राउन सुगर बरामद

तीन जिल्लामा लागुऔषधविरुद्ध प्रहरीको कारबाही, गाँजा र ब्राउन सुगर बरामद

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं ।  प्रहरीले काठमाडौं, पर्सा र मोरङमा छुट्टाछुट्टै कारबाही गर्दै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। तीन जिल्लामा गरिएको अभियानका क्रममा गाँजा र ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् भने ठूलो परिमाणको गाँजा बेवारिसे अवस्थामा फेला परेको छ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल क्षेत्रमा शनिबार राति प्रहरीले ३० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल निवासी ५४ वर्षीय अम्बक तामाङ रहेका छन्। उनीहरू सवार बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।

    उता पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित बगैंचामा बेवारिसे अवस्थामा राखिएको १४० किलो गाँजा प्रहरीले फेला पारेको छ। उक्त गाँजा कसले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

    यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ निवासी रणध्वज राई रहेका छन्। उनी प्रदेश १–०२–०४४ प ११८ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेला प्रहरीले लागुऔषध बरामद गरेको हो।

    प्रहरीले तीनै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij