२०८३, आश्विन १ गते

Sep 17 2026

साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। साउन महिनाको दोस्रो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। वर्षासमेत बेवास्ता गर्दै भक्तजनहरू शिव दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका हुन्।

    पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खुला गरिएको छ। भक्तजनको सहज आवागमन र सुरक्षित दर्शनका लागि पहिलो सोमबारको अनुभवलाई आधार बनाएर यसपटक थप व्यवस्थापन गरिएको जनाइएको छ।

    दर्शनलाई व्यवस्थित बनाउन कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संस्थाले समन्वयात्मक रूपमा सेवा दिइरहेका छन्।

    कोषले साउने सोमबारमा आउने श्रद्धालुलाई सुरक्षित, सहज र मर्यादित वातावरणमा दर्शन गराउने उद्देश्यले विशेष तयारी गरेको जनाएको छ। मन्दिर बिहान ३ बजेदेखि बेलुका आरतीपछि करिब ८ बजेसम्म खुला रहनेछ भने विशेष पूजा बिहान ८:३० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ।

    दर्शनार्थीका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको चहलपहल बढे पनि लाम अत्यधिक नबढेको कोषले जनाएको छ। साथै, प्राथमिक उपचारसहित आवश्यक आधारभूत सेवा पनि पशुपति क्षेत्रमा उपलब्ध गराइएको छ।

    पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिव मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। यस्तै, देशका विभिन्न जिल्लाका शिवालयमा पनि श्रद्धालुहरू दर्शन र पूजाआराधनामा सहभागी भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij