काठमाडौं। नेपालमा शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका छन्। यद्यपि, तीमध्ये ५१ लाख ४८ हजार ८९४ वटा ‘मेरो शेयर’ खाता मात्रै सक्रिय अवस्थामा रहेका छन् भने करिब २९ लाख डिम्याट खाता निष्क्रिय रहेको तथ्यांकले देखाएको छ।
एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्थाका कारण पनि कुल खाताको संख्या उच्च देखिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।
संस्थाका अनुसार हालसम्म डिम्याट प्रणालीमा रूपान्तरण भएका शेयरको संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता पुगेको छ। जबकि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कुल शेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
यस आधारमा करिब ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर अझै डिम्याट हुन बाँकी रहेको वा अन्य कारणले अभिलेखमा समावेश नभएको हुन सक्ने सीडीएस एन्ड क्लियरिङले जनाएको छ।