काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानकै आसपास रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार अहिले हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने तराईका अधिकांश भू–भागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली उच्च भू–भागका केही स्थानमा हिमपात पनि हुन सक्ने आकलन गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि मौसममा उल्लेख्य सुधार नआउने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहनेछ।
भारी वर्षाको जोखिम रहेका क्षेत्रमा नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिमयुक्त सडक प्रयोग गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।