राजकुमार हुमागाँई
पछिल्ला दिनहरूमा हिन्दू–मुस्लिम समुदायबीच देखिएका तनाव, झडप र सामाजिक सञ्जालमार्फत फैलाइएका उत्तेजक अभिव्यक्तिहरूले नेपाली समाजलाई गम्भीर चिन्तामा पारेका छन्। कुनै पनि विवादको समाधान हिंसा, घृणा वा धार्मिक विद्वेषबाट सम्भव हुँदैन। यसको अन्तिम मूल्य आम नागरिकले नै चुकाउनुपर्छ।
नेपाल विविध भाषा, धर्म, जातजाति र संस्कृतिले बनेको साझा फूलबारी हो। यही विविधता हाम्रो पहिचान र शक्ति हो। कुनै एक समुदायमाथि आक्रमण हुँदा त्यसको असर अन्ततः समग्र समाजमा पर्छ। त्यसैले भाषा, धर्म र जातभन्दा माथि उठेर मानवतालाई केन्द्रमा राख्ने समय आएको छ।
राजनीतिक दल, सामाजिक अगुवा र सरोकारवाला निकायले पनि संवेदनशील विषयमा जिम्मेवार भूमिका खेल्न आवश्यक छ। सस्तो लोकप्रियता, धार्मिक ध्रुवीकरण वा राजनीतिक स्वार्थका लागि समाजलाई विभाजित गर्ने प्रयास लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताविरुद्धको कदम हो। नेतृत्वले आगोमा घिउ थप्ने होइन, संवाद, संयम र सहअस्तित्वको वातावरण निर्माण गर्नुपर्छ।
हामी सबै नेपाली हौँ। हाम्रो सम्बन्ध केवल धर्मले होइन, साझा इतिहास, साझा माटो र साझा भविष्यले जोडेको छ। हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई वा अन्य कुनै पनि आस्थाका नागरिक भए पनि हामी एउटै राष्ट्रका दाजुभाइ तथा दिदीबहिनी हौँ। आपसमा झैझगडा गरेर हामीले कसैको हित गर्दैनौँ; बरु समाजलाई कमजोर बनाउँछौँ र विभाजन चाहनेहरूलाई अवसर दिन्छौँ।
युवापुस्ताले विशेष रूपमा सामाजिक सञ्जालमा आउने अपुष्ट समाचार, अफवाह र घृणा फैलाउने सामग्रीप्रति सचेत रहनुपर्छ।
सत्यता पुष्टि नगरी कुनै पनि सामग्री साझा गर्नुले तनाव झन् बढाउन सक्छ। जिम्मेवार नागरिकको पहिचान भनेको शान्ति, सहिष्णुता र सद्भावको पक्षमा उभिनु हो।
आजको आवश्यकता प्रतिशोध होइन, संवाद हो। घृणा होइन, सम्मान हो। विभाजन होइन, राष्ट्रिय एकता हो। मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनाका साथ अघि बढ्न सके मात्रै नेपाल शान्त, समृद्ध र सभ्य समाजको उदाहरण बन्न सक्छ ।