२०८३, आश्विन १ गते

Sep 17 2026

'दुई सय तोला सुन' लिएर आउँदै दिपेश एसके, सार्वजनिक हुनुअघि नै किन बढ्यो चर्चा?

'दुई सय तोला सुन' लिएर आउँदै दिपेश एसके, सार्वजनिक हुनुअघि नै किन बढ्यो चर्चा?

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । नेपाली तीज गीतको मौसम सुरु भएसँगै सांगीतिक बजारमा नयाँ–नयाँ सिर्जनाले चर्चा बटुल्न थालेका छन्। यही क्रममा चर्चित कोरियोग्राफर दिपेश एसके नयाँ तीज गीत ‘दुई सय तोला सुन’ मार्फत यस वर्षको तीज बजारमा दमदार उपस्थितिको तयारीमा छन्।

    गायिका विष्णु माया पौडेलको स्वरमा सजिएको यस गीतमा आरबी केसीको शब्द तथा संगीत रहेको छ। मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग संयोजन गरिएको गीतले यस वर्षका तीज गीतहरूमध्ये फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ।

    गीतको सबैभन्दा विशेष पक्ष भने यसको दृश्य प्रस्तुति हो। भिडियोको सम्पूर्ण कोरियोग्राफी दिपेश एसकेले गरेका छन्। तीजको मौलिकता, नेपाली संस्कृति र आधुनिक नृत्य शैलीलाई सन्तुलित रूपमा प्रस्तुत गर्न उनले विशेष मेहनत गरेको निर्माण टोलीले जनाएको छ। पछिल्लो समय लगातार सफल म्युजिक भिडियोमार्फत आफ्नो छुट्टै पहिचान बनाएका दिपेश एसकेको यो नयाँ प्रस्तुति पनि दर्शकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

    भिडियोमा चर्चित मोडल अस्मिता जुरेलीआरती बुढाको आकर्षक नृत्य तथा जीवन्त अभिनय देख्न पाइनेछ। उनीहरूको ऊर्जा र दिपेश एसकेको कोरियोग्राफीको संयोजनले भिडियोलाई अझ आकर्षक बनाएको निर्माण पक्षको दाबी छ।

    भिडियोको छायांकन काठमाडौंको गोकर्णेश्वरस्थित सहिद स्मारक पार्क तथा त्रिवेणी ब्याङ्क्वेटमा सम्पन्न भएको हो। छायांकनको जिम्मेवारी छायाकार रामकुमार केसीले निर्वाह गरेका छन् भने सम्पादन वरिष्ठ सम्पादक टेकेन्द्र शाहले गर्नेछन्। निर्माण टोलीका अनुसार सम्पादन कार्य सम्पन्न भएपछि गीत छिट्टै सार्वजनिक गरिनेछ।

    छायांकन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ लगायत सम्पूर्ण सहयोगीप्रति गायिका विष्णु माया पौडेलले आभार व्यक्त गरेकी छन्। साथै कलाकार, प्राविधिक, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएकी छन्।

    तीज पर्व नजिकिँदै जाँदा सार्वजनिक हुन लागेको ‘दुई सय तोला सुन’ ले उत्कृष्ट शब्द, सशक्त संगीत, आकर्षक नृत्य र भव्य दृश्य प्रस्तुतिका कारण यस वर्षको तीज बजारमा उल्लेखनीय चर्चा बटुल्ने अपेक्षा गरिएको छ। विशेषगरी दिपेश एसकेको कोरियोग्राफी यस गीतको मुख्य आकर्षणका रूपमा हेरिएको छ, जसले तीज गीतप्रेमीलाई नयाँ स्वाद र नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij