काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित सुरक्षा गस्ती तथा चेकजाँचका क्रममा लागुऔषधसहित २० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
भक्तपुर नगरपालिका–१ सल्लाघारी र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक–एक जना पक्राउ परेका छन्। यस्तै, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपल तथा सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट पनि एक–एक जना प्रहरीको नियन्त्रणमा परेका छन्। नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट समेत एक जना पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चुच्चेखोला, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगर र बाराको महागढीमाई नगरपालिका–१० गोवास टोलबाट एक–एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन जना तथा कन्काई नगरपालिका–४ कोटीहोमबाट एक जना पक्राउ परेका छन्। धनकुटाको पाख्रीबास नगरपालिका–५ माङमायाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग तथा खरिद गर्न मिल्ने ट्रामाडोललगायतका नियन्त्रित औषधि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू शुक्रबार र त्यसअघि बिहीबार विभिन्न समयमा नियन्त्रणमा लिइएका हुन्। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।