२०८३, आश्विन १ गते

Sep 17 2026

देउवा स्वदेश फर्किँदा विमानस्थलमै पुगेर स्वागत गर्न कांग्रेस कार्यकर्तालाई महतको आग्रह

देउवा स्वदेश फर्किँदा विमानस्थलमै पुगेर स्वागत गर्न कांग्रेस कार्यकर्तालाई महतको आग्रह

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं पार्टीका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएर स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    शनिबार काठमाडौंको बसुन्धारामा आयोजित नुवाकोट क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतमा विमानस्थलमा उल्लेख्य सहभागिता जनाउन आग्रह गरेका हुन् ।

    उनका अनुसार देउवा २६ गते राति ९ः४५ बजे नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ । यद्यपि, नेता–कार्यकर्तालाई सहज हुने गरी उनको आगमनको समय दिउँसो सार्न पहल भइरहेको महतले जानकारी दिए ।

    महतले देउवाको स्वागतका लागि सबैलाई अनुकूल हुने समय मिलाउने प्रयास भइरहेको बताए ।

    जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए ।

    यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ । उक्त भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय गर्ने तयारी भइरहेको छ ।

    राष्ट्रिय भेलाको व्यवस्थापन तथा तयारीका लागि संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij