काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशनतर्फको प्रक्रिया केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएपछि अघि बढ्ने बताएका छन् ।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले साउन २४ गतेबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको तयारीले गति लिने बताएका हुन् ।
थापाले कांग्रेसलाई आफ्नो मौलिक इतिहास, संघर्ष, त्याग र राजनीतिक आधारसँग जोड्दै नयाँ सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार पार्टीको आगामी राजनीति नागरिक सेवा र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्न आवश्यक छ ।
कांग्रेसलाई सरकार र राजनीतिक शक्ति आवश्यक भए पनि सिद्धान्तलाई छाडेर प्राप्त हुने सत्ता अर्थपूर्ण नहुने उनको भनाइ थियो । उनले राजनीतिलाई पद प्राप्तिको माध्यमभन्दा पनि नागरिकको सेवा गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
सभापति थापाले कांग्रेसका संस्थापक तथा शीर्ष नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पद तथा सत्ताका लागि आफ्ना राजनीतिक सिद्धान्तमा सम्झौता नगरेको स्मरण गर्दै वर्तमान नेतृत्वले पनि त्यही राजनीतिक संस्कारलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय झोला तथा विभिन्न स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो ।