२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज, पार्टीभित्रको विवाद र एकताको विषय मुख्य चर्चामा

कांग्रेस केन्द्रीय समिति बैठक आज, पार्टीभित्रको विवाद र एकताको विषय मुख्य चर्चामा

रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि सुरु हुँदैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्।

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकका लागि आवश्यक तयारी पूरा भएको छ। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा पार्टीभित्र देखिएको मतभेदलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीको केन्द्रीय बैठक बस्न लागेको हो। यस घटनाले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप चर्चामा ल्याएको छ।

    यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म उक्त भेला आयोजना गर्ने तयारी गरिएको बताइएको छ।

    करिब पाँच महिनादेखि स्वास्थ्य उपचारका क्रममा सिंगापुर र हङकङमा रहेका देउवा साउन २८ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि कोइराला नेतृत्वमा हुने भेलालाई देउवाले सम्बोधन गर्ने तयारी रहेको छ।

    कांग्रेसभित्र बढ्दै गएको गुटगत गतिविधि र नेतृत्वबीचको असमझदारीका कारण पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक एकताबारे प्रश्न उठ्न थालेका छन्। पार्टी विभाजनको सम्भावनासम्मका चर्चा भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ।

    पार्टीलाई एकताबद्ध राख्ने विषयमा नेतृत्वले कस्तो पहल गर्छ भन्ने कुरा पनि बैठकको महत्वपूर्ण चासोको विषय बनेको छ। विशेषगरी सभापति गगन थापा नेतृत्वको कांग्रेसले आन्तरिक विवाद समाधानका लागि अघि सार्ने रणनीतिलाई चासोका साथ हेरिएको छ।

    केन्द्रीय समिति बैठकपछि कांग्रेसभित्रको विवाद समाधानतर्फ जाने हो वा गुटगत दूरी थप बढ्ने हो भन्ने विषयमा स्पष्ट संकेत देखिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij