जुम्ला । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ मा रु. १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु. ५० लाखले बढी हो।
कार्यालयका अनुसार सवारीसाधनको संख्या बढ्नु, चालक अनुमतिपत्र वितरणमा वृद्धि हुनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र छिटो बनाइनुले राजस्व संकलन बढेको हो।
कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा पकेट तथा रुट परमिटबाट रु. १८ लाख ८८ हजार, सवारी दर्ता किताब दस्तुरबाट रु. ६४ लाख ९२ हजार र अग्रिम आयकरबापत रु. ६ लाख ६८ हजार संकलन भएको छ। त्यस्तै, बेरुजु असुलीबाट रु. १ हजार ५७५ तथा सवारीसाधन करबाट रु. १ करोड ३९ लाख ३ हजार राजस्व प्राप्त भएको उनले जानकारी दिए।
यस्तै, सोही अवधिमा कार्यालयबाट विभिन्न वर्गका गरी ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ। जसमा मोटरसाइकल, स्कुटर र मोपेडतर्फको वर्ग ‘ए’ मा १८८ वटा तथा कार, जिप र डेलिभरी भ्यानतर्फको वर्ग ‘बी’ मा ३८ वटा लाइसेन्स वितरण भएका छन्।
यसैगरी, चालक अनुमतिपत्रको प्रतिलिपि तथा नवीकरणतर्फ ३९४ वटा सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सेवाग्राहीको संख्या र सवारीसाधनको चापसँगै आगामी दिनमा राजस्व संकलन अझ बढ्ने अपेक्षा गरिएको छ।