म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोमा पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन्।
मङ्गलबार राति करिब ३ बजे विद्युत्गृहको पछाडिपट्टि रहेको ल्यासीको भीरबाट ठूलो पहिरो खसेको थियो। पहिरोले विद्युत्गृहको केही भाग पुरिएपछि आयोजनामा सुरक्षाका लागि खटिएका खिमबहादुर बरुवाल (दिपक) सम्पर्कविहीन भएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिएका छन्।
घटनाको खबर पाएलगत्तै अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। पहिरोमा पुरिएका एक जनालाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताएका छन्।
प्रहरीका अनुसार विद्युत्गृहको पछाडिको पहाडको माथिल्लो भाग खस्दा पावरहाउसको केही संरचना माटो र ढुङ्गाले पुरिएको हो। बेपत्ता सुरक्षा गार्डको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
घारखोला जलविद्युत् आयोजनाको पावरहाउस २०८० साल असारदेखि सञ्चालनमा आएको थियो। आयोजनाले अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध निर्माण गरी घारखोलाको पानी करिब तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत अन्नपूर्ण–६ अमिलाकाफलस्थित आउटलेटसम्म पुर्याउँदै आएको थियो।
आउटलेटबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत करिब ४८५ मिटरको हेडबाट पानी पोखरेबगरस्थित विद्युत्गृहमा झारेर विद्युत् उत्पादन हुँदै आएको थियो।
पहिरोका कारण विद्युत्गृहमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको छ। बेपत्ता सुरक्षा गार्डको खोजी र पहिरोबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।