काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेला आज समापन हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि सुरु भएको तीनदिने भेला आज प्रतिनिधिहरूको धारणा सुनेपछि औपचारिक रूपमा टुंगिने भएको हो।
भेलाको अन्तिम दिनको कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिसहितका विषयमा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएका छन्।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रस्तुत प्रतिवेदनमाथि आज सहभागी प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन्। प्रतिनिधिहरूलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ।
भेलाको अध्यक्षता कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्। भेलाबाट पार्टीभित्रका विभिन्न गतिविधिलाई अघि बढाउन कम्तीमा १४ वटा उपसमिति चयन गर्ने तयारीसमेत गरिएको बताइएको छ।
कांग्रेसको नेतृत्व तथा पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष थप उत्साहित देखिएको छ। यही राजनीतिक घटनाक्रमका बीच निवर्तमान सभापति देउवा लामो समय विदेशमा रहेपछि बिहीबार स्वदेश फर्किएका थिए।
भेलालाई देउवा पक्षले पार्टीभित्रको आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। आजको समापन सत्रमा प्रतिनिधिहरूको धारणा, प्रतिवेदनमाथिको छलफल तथा संगठनात्मक निर्णयपछि भेलाको निष्कर्ष सार्वजनिक गरिने अपेक्षा गरिएको छ।