२०८३, आश्विन १ गते

Sep 17 2026

पेट्रोलियम पदार्थको मूल्य नबढ्ने, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य नबढ्ने, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

रोज नेपाल
सोमवार, भाद्र १ २०८३
रोज नेपाल
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि परिवर्तन नगर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी यसअघि कायम रहेको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

    मूल्य यथावत् राख्दा निगमले पाक्षिक रूपमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा खरिद लागतअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तामाथि तत्काल थप भार नपरोस् भन्ने उद्देश्यले साविककै मूल्य कायम गरिएको हो।

    निगमले यसअघि साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो। हाल कायम नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म रहेको छ।

    डिजेल तथा मट्टीतेलको मूल्य पनि पेट्रोलसरह पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

    निगमले इन्धन बिक्रीका लागि मुलुकका विभिन्न डिपोलाई तीन वर्गमा विभाजन गरेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखिएको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा छन् भने काठमाडौं, पोखरा र दीपायलका डिपो तेस्रो वर्गमा समेटिएका छन्।

    निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य, खरिद लागत तथा अन्य खर्चका आधारमा मूल्य निर्धारण हुने भए पनि हालका लागि उपभोक्ताले तिर्दै आएको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। त्यसैले सोमबारदेखि पनि पेट्रोलियम पदार्थको बिक्री साविककै दरमा हुने भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij