काठमाडौं । नेपालभाषा र नेपाली भाषाका चर्चित स्रष्टा दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समय उनी स्वास्थ्य समस्याका कारण अस्वस्थ थिए।
करिब ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय श्रेष्ठ कविता, गीत, नाटक तथा विचारप्रधान लेखनका लागि परिचित थिए। नेपालभाषा र नेपाली दुवै भाषाको साहित्यमा उनको महत्वपूर्ण योगदान रहेको छ। नेपाल भाषा परिषद्ले उनलाई करिब दुई दशकअघि ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो।
रङ्गमञ्चमा पनि श्रेष्ठको योगदान उल्लेखनीय मानिन्छ। उनले नेपाली नाटकमा नयाँ प्रयोगका रूपमा ‘रामबहादुरको संसार’ लगायतका कृति सिर्जना गरेका थिए। उनका नाटकमार्फत मदनदास श्रेष्ठ र हरिहर शर्माजस्ता कलाकारले समेत आफ्नो रंगमञ्चीय पहिचान बलियो बनाएका थिए।
श्रेष्ठ गीतकारका रूपमा पनि उत्तिकै लोकप्रिय थिए। स्वरसम्राट् नारायणगोपालसँग उनको विशेष सम्बन्ध रहेको बताइन्छ। अम्बर गुरुङको संगीतमा निर्मला श्रेष्ठले गाएको ‘सयथरि गोडा एउटै चाल’ तथा न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘फूलको आँखामा फूलै संसार’ उनका चर्चित सिर्जनामध्ये पर्छन्।
विशेषगरी ‘फूलको आँखामा फूलै संसार’ नेपाली संगीतप्रेमीमाझ निकै लोकप्रिय बनेको थियो। कविता, गीत र नाटकमार्फत श्रेष्ठले नेपाली तथा नेपालभाषाको साहित्य र संगीत क्षेत्रमा पुर्याएको योगदानले उनलाई दीर्घकालसम्म स्मरणीय बनाउनेछ।