काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको थियो। बुधबार भने सोही मूल्यमा कारोबार भएको थियो।
पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। गत शुक्रबार ४ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार र सोमबार गरी कुल ५ हजार २ सय रुपैयाँले बढेको थियो।
यता, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १६० रुपैयाँ घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य २५ रुपैयाँले घटेको थियो।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको अहिलेसम्मकै उच्च मूल्य पनि गत माघ १५ गते नै कायम भएको थियो। त्यस दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। माघ १८ गते भने चाँदीको मूल्य एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।